१० मंसिर २०८१, सोमबार
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जोय बाइडेनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यतिखेर सबैको ध्यान फ्लोरिडाको नतिजामा अडिएको छ। फ्लोरिडाको पूरा नतिजाले यसपटकको निर्वाचनमा को बलियो छ भन्ने संकेत गर्ने अपेक्षा छ।
फ्लोरिडामा खसेको कूल मतको ८० प्रतिशत गन्ती गर्दा रिपब्लिकन उम्मेदवार तथा राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनसँग ‘नेक टू नेक’ देखिएका छन्।
फ्लोरिडाजस्तै चुनावी हिसाबले महत्वपूर्ण मानिने राज्यहरु जर्जिया, पेन्सेलभेनिया, ओहायो र नर्थ क्यारोलिनाको मत सार्वजनिक नभएसम्म कसले चुनाव जित्दैछ भन्यो भने त्यो हतारको विश्लेषण हुनसक्छ।
कोरोना भाइरसको संक्रमणका बीच लामो र तिक्ततापूर्ण चुनावी अभियानका कारण यसपाला राष्ट्रपतीय निर्वाचन सधैं विवादकै बीचमा अगाडि बढ्यो। १० करोडभन्दा धेरै जनसंख्याले ‘अर्ली भोट’ गरिसकेका छन्। नोभेम्बर ३ चुनावको दिन तोकिएको थियो।
अमेरिकी निर्वाचन इतिहासमा सबैभन्दा बढी भोट खसेको छ। डेमोक्रेटिक र रिपब्लिकनको प्रभाव भएका राज्यहरुबाट नतिजा आएपछिमात्रै निर्वाचन परिणाममाथि गरिएका प्रक्षेपणहरु मान्न सकिने स्थिति बनेको छ।
राष्ट्रपतिसँगै अमेरिकी कँग्रेसमा कसको दबदबा रहन्छ भन्ने पनि चासोको विषय बनेको छ।
अमेरिकी निर्वाचनमा पाँच विषयलाई एक्जिट पोलहरुले आधार बनाएर विश्लेषण गरिरहेका छन्। अमेरिकी अर्थतन्त्र, रङ्गभेद, कोरोना भाइरसको पेन्डामिक, अपराध तथा सुरक्षा र स्वस्थ्य सेवा नीतिलाई चुनावी एजेन्डाका रुपमा हेरिएको छ। यिनै एजेन्डाका आधारमा नयाँ राष्ट्रपति चुनिने अपेक्षा गरिएको छ।
निर्वाचनको कार्यक्रम सकिएपछि चुनावलाई प्रभावित पार्न सक्ने राज्यहरुमाथि सबैको नजर रहेको छ। ह्वाइट हाउसको रेसम पेन्सेलभेनिया, जर्जिया, नर्थ क्यारोलिना र ओहायोको मत परिणाममाथि सबैको नजर छ। अर्को कार्यकालमा राष्ट्रपति रहिरहने हो भने फ्लोरिडा र पेन्सेलभेनिया दुवैमा ट्रम्पले जित निकाल्नै पर्ने बताइएको छ। अन्य राज्यमा कुनै अप्रत्यासित नजिताको अपेक्षा गरिएको छैन।
बीबीसीले गरेको प्रोजेक्सन अनुसार इन्डियाना, केन्टुके, ओक्लाहामा लगायतका स्थानमा ट्रम्पले जित निकाल्ने छन् भने बाइडेनले मेरिल्यान्ड, न्युजर्सी, वासिङ्टन डीसी लगायतका स्थानमा सहज जित हात पार्ने छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्नेले कम्तिमा २ सय ७० इलेक्ट्रोरल कलेज आफ्नो पक्षमा पार्नुपर्ने छ। अमेरिकामा कूल ५ सय ३८ इलेक्ट्रोरल कलेज छन्। जनसंख्याका आधारमा राज्यअनुसार यो संख्या निर्धारण भएको हुन्छ। त्यसकारण पपुलर भोटका आधारमा मात्रै राष्ट्रपति निर्वाचित हुँदैनन्। सिनेटमा को बलियो रहने भन्ने पनि यसैबाट निर्धारण हुन्छ।
यो चुनावको नतिजा पूरै आउन भने समय लाग्ने छ। तर, नतिजा कसको पक्षमा जाँदैछ भन्ने थाहा पाउन भने समय लाग्ने छैन। आज साँझसम्म अमेरिकाको सम्भावित राष्ट्रपति को भन्ने संकेत मिल्नेछ।
हुलाकमार्फत् संकलन भएका मत गन्न भने समय लाग्नसक्ने बताइएकाले मतगणनाको दिन लम्बिने आँकलन गरिएको छ। हुलाक सेवाबाट खसेका मत राज्यको नीति अनुसार गनिने भएकाले पनि यति दिनमा नै सम्पूर्ण परिणाम आउँछ भन्न सकिने अवस्था छैन। हुलाकमार्फत् भएको मतदानको विषयलाई लिएर यसपाला पनि निर्वाचनको परिणामका लागि अदालतको फैसलासम्म पुग्नुपर्ने संकेत पनि देखिएको छ।
निर्वाचन सकिएलगत्तै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा ४ सय पाहुना निम्त्याएका छन् पार्टीका लागि। ब्ल्याक लाइम्भ म्याटर आन्दोलनसँग जोडिएका करिब १० हजार मानिस वासिङटन डीसीमा भेला हुने अपेक्षा गरिएको छ। यो ठाउँ ह्वाइट हाउसबाट धेरै टाढा हुने छैन। पूर्व उपराष्ट्रपतिको निवासबाट बाइडेन र कमला ह्यारिसले निर्वाचन परिणाम हेर्नेछन्।