१० मंसिर २०८१, सोमबार
एजेन्सी: मंगलबारदेखि सन् २०२२ का लागि डिभी चिठ्ठा भर्ने म्याद सकिएकाे छ । डिभी चिठ्ठा अक्टोबर ७ देखि खुलेको थियो। अब आगामी मे ८ मा यसको नतिजा आउनेछ भने आगामी अक्टोबर १ देखि विजेताहरुले भिसा पाउन थाल्नेछन्।
ढिलो दिइएका आवेदन स्वीकार नगरिने जनाइएको छ। एक व्यक्तिले एकभन्दा धेरै आवेदन दिए–नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिएको र एउटाभन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने छ अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।
गत वर्षदेखि डिभी चिठ्ठा आवेदनमा पासपोर्ट अनिवार्य गरिएको थियो। डिभी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा मिति नाघेमा त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले गलत पासपोर्ट नम्बरसहित डिभी चिठ्ठाका लागि आवेदन दिएमा स्वतः अयोग्य हुने उल्लेख गरेको छ। डिभी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्न भनिएको छ। फोटोकपी आफैंमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभए पनि यसले आवेदकको अवस्थाको व्याख्या गर्न मद्दत गर्ने विदेश मन्त्रालयले जनाएको छ ।