९ जेष्ठ २०८३, शनिबार
काठमाडौँ : विशेष गरेर तराई क्षेत्रमा मनाइने छठ पर्व आज (बुधबार) देखि सुरु भएको छ । भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाउने गरिन्छ ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चतुर्थी तिथिका दिन व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई ‘नहाय–खाय’ भनिन्छ । यद्यपि व्रतालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल शुरु गरिसकेका छन् ।


त्यसैगरी दोस्रो दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई ‘खरना’ भनिन्छ ।
पर्वको मुख्य दिन षष्ठी तिथिमा व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै अस्ताउँदै गरेको सूर्यदेवलाई अघ्र्य दिन्छन् । यसक्रममा ठेकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ संक्रमणका कारण धेरैजसो व्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।
पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठपर्व विधिवत रुपमा सम्पन्न हुनेछ । अन्तिम दिनको विधिलाई भोरका अरख भनिन्छ ।
छठपर्व (व्रत) गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।
पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व साझा पर्वको रुपमा विकास हुँदै गएको छ ।