प्रधानमन्त्रीले कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो : हर्क साम्पाङ

होमल्याण्ड खबर

२०८३ जेष्ठ ७ गते, बिहीबार १३:३९ मा प्रकाशित

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोजेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। सो क्रममा उनले प्रधानमन्त्री बालेन शाहले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा आफूसहित सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन आउनुपर्ने बताए।

‘सभामुखमार्फत् म प्रश्न गर्न चाहन्छु- उहाँ (प्रधानमन्त्री) यो संसदको सदस्य हो कि होइन? यो देशमा संसद छ कि छैन। हामी सबै जनाले यो लोकतन्त्र र यो संसदको गरिमालाई जोगाइराख्न पर्छ कि पर्दैन?,’ उनले प्रश्न गरे, ‘यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दा राम्रो। नेपाली लोकतन्त्र र जनताको मतद्वारा स्थापित संसदप्रति उहाँ जबाफदेही नभए कोप्रति हुनुहुन्छ, शंका गर्ने ठाउँ छ यहाँ।’

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा साम्पाङले निरन्तर प्लेकार्ड देखाउँदै आएका छन् ।