मोडर्न प्रविधि समावेश भएको होन्डाको क्लासिक बाइक, रोयल इन्फिल्डको विकल्प बन्न सक्ला ?

होमल्याण्ड खबर

२०७७ मंसिर ४ गते, बिहीबार १३:४४ मा प्रकाशित

मोटर उत्पादक कम्पनी होन्डाले क्लासिकि सिरिजमा नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० सार्वजनिक गरेको छ ।

भारतीय बजारमा २० दिनमै १ हजारभन्दा बढी युनिट बिक्री भएबाट पनि यो बाइकप्रति उपभोक्ताको रुचीलाई दर्शाउँछ ।

होन्डाले रोयल इन्फिल्डका बाइकसँग प्रतिस्पर्धा गर्न भारतीय बजारमा हाइनेस सीबी ३५० ल्याएको मानिन्छ । होन्डाको यो बाइकले रोयल इन्फिल्डको बुलेट र क्लासिक ३५० सँग सीधा प्रतिस्पर्धा गर्ने छ ।

यसअघि पनि रोयल इन्फिल्डको क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्न भारतीय बजारमा अरु बाइक नआएका होइनन् । तर, ती बाइकले रोयल इन्फिल्डको बजारलाई भने खासै प्रभाव पारेको थिएन ।

रोयल इन्फिल्डका केही खास ग्राहक हुन्छन्, जो कहिल्यै गुणस्तरमा सम्झौता गर्दैनन् । होन्डाले रोयल इन्फिल्डका त्यस्तै ग्राहकलाई मध्यनजर गर्दै हाइनेस सीबी ३५० मा गुणस्तरणलाई विशेष ध्यान दिएको छ ।

बाइकको गुणस्तरलाई ध्यान दिँदै कम्पनीले इन्जिनका अनावश्यक पार्ट हटाएको छ । होन्डाको यो बाइकले हिमालयन फियास्कोको अनुभव दिलाउने बताउने गरिएको छ ।

यस्तै, मूल्यका हिसावले केही महंगा हुने रोयल इन्फिल्डका बाइक खरिद गर्न नसकेका ग्राहकका लागि होन्डाको हाइनेस एक ‘उत्कृष्ट’ विकल्प हुन सक्छ । भारतीय बजारमा यो बाइकको शुरुवाती ‘अनरोड’ मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।

यो बाइकको अर्को विशेषता भनेको यसमा प्रयोग गरिएको ‘मोडर्न प्रविधि’ हो । बाइकमा होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम समावेश गरिएको छ । यसमा नेभिगेसन, म्युजिक मप्लेब्याक आदि फिचर पनि समावेश छन् । यो प्रविधि रोयल इन्फिल्डको क्लासिक ३५० मा समावेश छैन ।

होन्डाले हाइनेस सीबी ३५० मा सबै लाइटिङ इलईडी समावेश गरेको छ । यसका हेडलाइट, टेल लाइट, इन्डिकेटर एलईडी रहेको छ ।

हाइनेस सीबी ३५० सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम भएको होन्डाको पहिलो बाइक हो । यद्यपि यो बाइकले ३० एनएमको टर्क जेनेरेट गर्छ ।

यो बाइकमा स्लिपर क्लच पनि समावेश छ । जसको मद्दतबाट न्यून गति (स्पीड)बाट कम समयमै बाइकलाई उच्च गतिमा राइड गर्न मिल्छ ।