कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका कुनै पनि विद्यालय नखुल्ने

होमल्याण्ड खबर

२०७७ मंसिर ११ गते, बिहीबार १३:४९ मा प्रकाशित

नयाँदिल्ली: भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय नखुल्ने भएका छन् ।  दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने त्यहाँकाे स्थानिय सरकारले जनाएकाे हाे ।

खोप नआउदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरू खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको छ। दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, ‘जहिलेसम्म खोप आउँदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरू बन्द नै रहन्छन्।’

कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनको भनाइ छ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सबै विद्यालयहरू बन्द नै रहेका छन्। कोरोना भाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो।

हालसम्म भारतमा ९२ लाख २२ हजार २ सय १६ जना काेराेना सङ्क्रमित भएका छन् भने एक लाख ३४ हजार ६ सय ९९ संक्रमितले ज्यान गुमाइ सकेका छन् ।