१० मंसिर २०८१, सोमबार
तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।
मगुफुली करिब तीन सातायतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण भएको पनि बताइएको थियो । तर, यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन ।
विपक्षी नेताहरूले भने उनलाई कोरोनाभाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर, यो समाचारको पुष्टि हुनसकेको छैन । यसै विषयको जवाफमा गत साता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ रहेको जानकारी सञ्चारमाध्यममार्फत दिएका थिए । यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।
मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछन् ।