१० मंसिर २०८१, सोमबार
एजेन्सी, अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ ।
कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।
बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आतंकवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ । –एएफपी