विश्वासको मत नपाएपछि स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट बिदा लिने घोषणा

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १०:५३ मा प्रकाशित

 स्टकहोम, विश्वासको मत गुमाएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गरेका छन् । झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उनले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गरेका छन्।

पार्टीकै एक कार्यक्रममा उनले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताए ।
“मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा जे जति समय, अवसर र जिम्मेवारी पाएँ, त्यो आफैँमा अति अतुलनीय र महत्वपूर्ण थिए, यो सधैँ रहिरहँदैन, एक दिन अवश्य अन्त्य हुनेछ, त्यो अन्त्य गर्ने दिन अहिले आएको छ,” उनले भने ।

उनले दुई महिना अगाडि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि अर्को प्रधानमन्त्री चयन नभएकाले अहिले पनि काम चलाउ प्रधानमन्त्री कै जिम्मेवारीमा छन् ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जनाले मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।एजेन्सी