कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती पक्राउ

होमल्याण्ड खबर

२०७८ आश्विन १४ गते, बिहीबार १०:२१ मा प्रकाशित

कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ गरिएको छ । एक नेपाली महिलाले आफ्नो प्रेमीसँगै आफूले जन्माएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । त्यहाँको फरवानीया क्षेत्रमा हिडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई धेरै शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा एक नवजात शिशुको साथमा फ्याँक्न कोसिस गरीरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए ।

खबर पाए लगत्यै मन्त्रालयले प्रहरी टोली घटनास्थलमा पुगी ती नेपाली दाम्पती नजिकै फोहोर फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेट्टाएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागि पठाइएको थियो । अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको र फोहोर फाल्ने कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ । अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।