सुडान सेनाको दाबी : गृहयुद्ध रोक्न ‘कू’ गर्यौं

होमल्याण्ड खबर

२०७८ कार्तिक १० गते, बुधबार ११:४४ मा प्रकाशित

 सुडान सेनाले मुलुकमा गृहयुद्ध रोक्न कू गरेको दाबी गरेको छ । सुडान सेनाका प्रमुख जनरल अब्देल फत्ताह अल ब्रुहनले मुलुकमा गृहयुद्ध रोक्न सरकार विघटन गर्नुपरेको बताएका छन् ।

सेना प्रमुख ब्रुहनले मंगलबार ‘कू’को विषयमा बोल्दै सेनासँग राजनीतिक पार्टीहरुलाई हटाउनुको कुनै विकल्प नरहेको बताएका हुन् । अलजाजिराका अनुसार सुडानमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै मानिसहरुले सेनाविरुद्ध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनको क्रममा केही मानिसहरुको मृत्यु समेत भइसकेको छ ।

प्रजातान्त्रिक व्यवस्था लागू गर्न सुडानमा राजनीतिक दल र सेनाको संयुक्त संक्रमणकालीन सरकार बनाइएको थियो । तर, सेनाले कू गरेसँगै अब सुडानको प्रजातन्त्र पुनः खोसिएको छ ।

ब्रुहनले सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोक सुरक्षित रहेको र आफ्नै घरमा रहेको बताएका छन् । सुडानका लागि १२ मुलुकका राजदूतले सैन्य ‘कू’ अस्वीकार गरेका छन् ।