सोमालियामा खाद्य संकट, १७ लाखभन्दा बढी मानिस प्रभावित

होमल्याण्ड खबर

२०७८ कार्तिक २९ गते, सोमबार १३:५२ मा प्रकाशित

एजेन्सी । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा यहाँको खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । खडेरीका कारण नागरिक प्रभावित भएका हुन । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो ।