१० मंसिर २०८१, सोमबार
अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने ।
कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो । सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो ।
करिब चार घण्टा लामो सो बैठकमा दुवै नेताहरूले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।
चीनमा भइरहेका मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरूले बताउँदै आएका छन् । बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुअरीदेखि सुरु हुँदै छ । चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।