विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो नगरौं : विनोद चौधरी

होमल्याण्ड खबर

२०७८ पुष २२ गते, बिहीबार १४:२७ मा प्रकाशित

कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गरेका छन । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले आफू विधिवत रुपमा निर्वाचित भएकाले रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका हुन।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’

यादवको उजुरीबारे चौधरीले भनेका छन्, ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रुपमा लिएको छुँ ।’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) २२०६ मत प्राप्त गरी विजय भएका थिए । सोही पदकालागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र छैटौं स्थानमा रहँदै पराजित भएका थिए ।