पुस २५ गते बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार १२:१८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको बाँकी पदाधिकारी चयन गर्न पुस २५ गते बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । हालै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन् ।

पदावधि पूरा भएर राष्ट्रियसभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ । त्यसपछि मात्र माओवादी केन्द्रको बैठक बस्ने सम्भावना रहेको छ ।

यही पुस ११–१८ मा सम्पन्न माओवादीको आठौं महाधिवेशनले २ सय ४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध चयन गरेको थियो ।

अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । यसबारे निर्णय गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निर्णय भएको थियो । माओवादी केन्द्रका एक शीर्ष नेता वर्षमान पुन अनन्त उपचारका क्रममा चीनमा रहेकाले उनीसमेत सहभागी हुन भ्याउनेगरी केन्द्रीय समितिको बैठक पुस २५ लाई निर्धारण गरिएको थियो ।

नेता पुनको शुक्रबार नेपाल आउने कार्यक्रमसमेत स्थगित भएको छ ।