सरकार चुनावमा जान डराएको ओलीको आरोप

होमल्याण्ड खबर

२०७८ पुष २६ गते, सोमबार १६:३५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकार चुनावमा जान डराएको आरोप लगाएका छन् । संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको र चुनाबदेखि डराएको दाबी गरेका हुन् ।

‘यो सरकार चुनावमा जान डराइरहेको छ । कानुनअनुसार स्थानीय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो तर चुनाव हुने कुनै सम्भावना छैन,’ उनले भने, ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ ।’

उनले स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन सरकारले खोजिरहेको दाबी गरेका थिए । ‘कर्मचारीलाई स्थानीय तह जिम्मा लगाउने र जनप्रतिनिधिविहीन गर्ने षड्यन्त्र भइरहेको छ । पहिले पनि कर्मचारीले स्थानीय तह चलाउँदा पंगु भएको थियो,’ उनले भने ।

०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन ०७४ मा भएको उनले बताए। उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी पनि गरेका थिए ।

उनले सहमति साथ जिल्ला अधिवेशनबाट नेतृत्व छान्न आग्रह गरेका थिए ।