फेरि विश्वव्यापी आर्थिक वृद्धिदर खुम्चिने, नेपालको वृद्धिदर ३.९% रहने

होमल्याण्ड खबर

२०७८ पुष २८ गते, बुधबार १३:२३ मा प्रकाशित

कोरोना भाइरसको नयाँ भेरियन्टको असर बढ्दै जाँदा विश्वव्यापी आर्थिक वृद्धिदरमा फेरि संकुचन आउने भएकोे छ । विश्व बैंकको पछिल्लो ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ रिपोर्ट अनुसार सन् २०२१ मा अर्थतन्त्र केही सुधार भएपनि २०२३ सम्म विश्वव्यापी आर्थिक वृद्धिदरमा कमी आउने देखिएको हो । विश्व बैंकले सन् २०२१ मा ५.५% रहेको विश्वव्यापी आर्थिक वृद्धिदर सन् २०२२ मा ४.१% र सन् २०२३ मा ३.२% मा सीमित हुने प्रक्षेपण गरेको छ ।
यता, दक्षिण एसियाको समग्र आर्थिक वृद्धिदर सन् २०२२ मा ७.६% ले बढेपनि सन् २०२३ मा ६% मा सीमित हुने प्रक्षेपण गरिएको छ । नेपालको आर्थिक वृद्धिदर भने यस आर्थिक वर्षमा ३.९% र आगामी आर्थिक वर्ष ४.७% रहने अनुमान गरिएको छ ।

दक्षिण एसियामा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा उच्च गतिमा बढ्ने देखिएको छ । सन् २०२१ मा माल्दिभ्यको आर्थिक वृद्धिदर २२.३% रहेको अनुमान गरिएको छ । यस्तै, सन् २०२२ मा ११% र सन् २०२३ मा १२% को आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ ।