सर्वोच्चको सेवा कटौती, थुनुवा र जरुरी बाहेक अरु मुद्दाको सुनुवाइ स्थगित

होमल्याण्ड खबर

२०७८ माघ ४ गते, मंगलवार १५:३७ मा प्रकाशित

सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोना भाइरस संक्रमण बढेपछि सेवा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको फूलकोर्टले सेवाहरु कटौती गर्ने निर्णय गरेको हो । बुधबार (भोलि)बाट सर्वोच्चमा अब मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्र सुनुवाइ हुने भएको छ ।

यस्तै, हेर्दाहेर्दैमा रहेका मुद्दा, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो अदालतमा आउने निवेदन र थुनुवामा भएका व्यक्तिको मुद्दा पनि सर्वोच्चमा सुनुवाइ हुनेछ ।

यसबाहेक नियमित सुनुवाइहरु स्थगित गर्ने निर्णय फूलकोर्टले गरेको छ। जिल्ला र उच्च अदालतलाई स्थानीय अवस्था मूल्यांकन गरेर निर्णय लिन समेत फूलकोर्टले भनेको छ ।

केहीदिन अघि सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।