३० फाल्गुन २०८२, शनिबार
गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले १ वर्षयता गरेको आफ्नो खर्च सार्वजनिक गरेका छन् । मेरो राजनीति तपाइको सेवाका लागि, मेरो राजनीति समाजको टेवाको लागि’ भन्ने मूल नारा अघि सारेर हिँडेका उनले नारा बनाएजस्तो काम पनि गर्दै आएका छन् । उनले आज पोखरामा पत्रकारसम्मेलन गरेर अघिल्लो वर्षको पौषदेखि हालसम्म सांसद्बापत आएको तलव र भत्तालाई समाजसेवामा लगाएको स्पष्ट पारेका छन् । उनले संसद् भएबापत पाएको ७ लाख ८२ हजार ३ सय ५६ रुपिँयामा थपेर जम्मा १३ लाख ६३ हजार ८ सय रुपिँया विभिन्न सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
गण्डकी प्रदेशका संसदीय दलका प्रवक्ता र पार्टीका प्रदेश कार्यसमितिका सदस्यसमेत रहेका उनले सांसदमा निर्वाचित हुनेबित्तिकै आफूले पाउने तलवभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । उनले विभिन्न व्यक्ति, संघसंस्था, क्लव, आमा समूह, महिला समूह गरी एक वर्षभित्रमा ३१ संघसंस्थालाई सहयोग गरेको स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्रमा कसैलाई अप्ठ्यारो परेको बेला सधैं सहयोग गर्दै आएका छन् । उनले कसैलाई पनि दुःख परेको हेर्न नसक्ने भएकाले आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्दै आएको जनाएका छन् । उनले किरियामा बसेका नागरिकलाई किरिया खर्च पनि दिएका छन् भने जाडोमा कपडा लगाउन नसक्नेलाई आफ्नै ज्याकेटसमेत फुकालेर लगाइदिएका छन् ।


पत्रकार सम्मेलनमा उनले आफू सुरुदेखि नै भ्रष्टाचार र अनियमितताको विपक्षमा बोल्दै आएको बताएका छन् । मैले कमाउनलाई राजनीति गरेको होइन, केही दिन सकौं भनेर लागिरहेको छु’ उनले भने । भोलि कुनै स्वार्थ राखेर अहिले सेवा गरेको हो कि भनेर भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले पार्टीले आगामी दिनमा दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले कोरोना संक्रमणका बेला आफूले गरेका कामको विवरण सुनाएका छन् । मास्क, सेनिटाइजर वितरणका साथै अक्सिजन मेशिन ल्याउने र व्यवस्थापन गने लगायतका कुरामा पनि उनले सक्रियता देखाएका थिए । उनले कोरोना संक्रमितलाई अस्पतालमा बेड मिलाइदिने मात्र गरेनन् खर्चको अभावमा उपचार गर्न नसकेकालाई आर्थिक सहयोग पनि गरे ।
उनले संविधान अनुसार निर्वाचन समयमा नै हुनुपर्नेमा पनि जोड दिए । देश बिगार्ने र देश बनाउने नेताहरु नै भएकाले नेताहरु र राजनीतिक दल जनताप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।