९ मंसिर २०८१, आईतवार
रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पर्न सक्ने भएको छ । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश भएकोले कच्चा तेलको आपूर्तिमा असर पर्न सक्ने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।
। दुई देशबीचको युद्ध थप बढ्दै गए आउँदा दिनमा तेलको भाउ अझै बढ्न सक्ने अनुमान छ । विश्वबजारमा मुख्यगरी पेट्रोलियम पदार्थमा युद्धको असर देखिन थालेको छ र त्यसबाट नेपाल पनि प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।
युद्ध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अझै बढ्न सक्ने र नेपालमा पनि महँगो हुनेछ । योसँगै नेपालमा ढुवानी र आपूर्तिमा समस्या निम्तिने बताइएको छ । पेट्रोल, डिजेल, मट्टितेल, ग्यासलगायतको भाउ बढेपछि यसले नेपाली भान्सामा प्रत्यक्ष प्रभाव पार्ने भएको हो ।
अब नेपाल आयल निगमको घाटा अझ बढ्ने देखिन्छ । घाटा वहन गर्न सरकारले खर्च गर्नुपर्नेछ । त्यस्तै रुस र युक्रेनसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी देशबीच आयात निर्यात प्रभावित हुन सक्ने देखिन्छ ।
नेपालले रुस र युक्रेनबाट केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेललगायतका वस्तु आयात गर्ने गरेको छ । केही समयका लागि यी आयात हुने वस्तुमा समस्या देखिन सक्ने बताइएको छ ।