१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि पाँच जनाले दावी पेश गरेका छन् । उनीहरु उम्मेदवारी घोषणा लगायतका कार्यक्रम संचालन तथा आफ्नो पक्षमा नतिजा पार्न मतदाता भेटघाटमा सक्रिय रहेका छन् ।
कांग्रेस चितवनको नेतृत्व सर्वसम्मत रुपमा चयनका लागि बुधबार राति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसक्दा निर्वाचनमा जाने निश्चित भएको छ ।


कांग्रेस चितवनको नेतृत्वको लागि संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सभापति लागि एक मात्र उम्मेदवार निर्धारण भइसकेको छ भने संस्थापन इतर पक्षमा ४ जना उम्मेदवार देखिएका छन् ।
चितवन कांग्रेसको नेतृत्वको लागि हालका बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार बन्ने निश्चित भएको छ भने संस्थापन इतरले साझा उम्मेदवार चयन गर्न सकेको छैन ।
संस्थापन इतर समूहबाट हालका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा।सूर्यकान्त घिमिरे उम्मेदवार हुने देखिएको छ । घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् ।
यस अघि कांग्रेस चितवनको सभापति पदमा आकांक्षा व्यक्त गरेका विजय भुषाल भने उम्मेदवारीबाट पछि हटेका छन् । कांग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन लागि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा रहेका उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउन नसके खण्डमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार बीच दोस्रो चरणमा पुनः मतदान गर्नुपर्ने हुन्छ ।