रुसी सेनाका एक ठूला अधिकारी लडाईँमा मारिएको युक्रेनको दाबी

होमल्याण्ड खबर

२०७८ फाल्गुन २४ गते, मंगलवार ११:३५ मा प्रकाशित

युक्रेनी सेनाको सैन्य गुप्तचर सेवाले खारकिभको नजिकै भएको लडाईंका बेला एक रुसी सेनाका शीर्ष कमान्डरको मृत्यु भएको दाबी गरेको छ । बीबीसीले यो दाबीलाई स्वतन्त्र रुपमा पुष्टि नगरेको बताएकाे छ भने रुसी अधिकारीले यसबारे कुनै टिप्पणी पनि गरेका छैनन् ।

युक्रेनको रक्षा मन्त्रालयको बयान अनुसार लडाईँमा मारिएका ठूला अधिकारी विताली गेरासिमोफ मेजर जनरल थिए र उनी ४१ औँ आर्मी अफ द सेन्ट्रल मिलिट्री डिस्ट्रिक्ट अफ रसियाका फर्स्ट डेप्युटी कमान्डर र चिफ अफ स्टाफ थिए ।
यो लडाईंमा थुप्रै वरिष्ठ सैन्य अधिकारी मारिएको र थुप्रै घाइते भएको बताइएको छ ।

युक्रेनी गुप्तचर एजेन्सीका अनुसार गेरासिमोफले दोस्रो चेचेन्या युद्ध र सिरियामा रुसी सैन्य अभियानमा भाग लिएका थिए । उनले ‘फर द रिटर्न अफ क्राइमिया’ मेडल पनि पाएका थिए । युक्रेनी अधिकारीले एउटा फोटो ट्वीट गरेको छ जसमा एक व्यक्तिलाई गेरासिमोव बताइएको छ ।