एमसीसी लागू हुन सक्दैन : विप्लव

होमल्याण्ड खबर

२०७८ चैत्र १७ गते, बिहीबार १६:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन हुँदैमा लागू हुन नसक्ने बताएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताउँदै एमसीसी पनि लागू हुन नदिने बताए ।  ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’

अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए । ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’