९ मंसिर २०८१, आईतवार
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ हरुले मुलुकमा ‘अराजकता सिर्जना गर्न खोजेको’ जनाएको छ । प्रदर्शनकारीमध्ये केहीले फलामको डण्डी, भाला, लाठी र अरु धारिलो हतियार समेत बोकेर राष्ट्रपतिको घर पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले दुई सैनिक बस र चार चक्के सवारी साधनमा आगजनी गरेको जनाइएको छ ।
प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको अल जजीराले जनाएको छ । प्रदर्शनपछि सो क्षेत्रमा केही समय कर्फ्यू समेत जारी गरिएको थियो । यद्यपि केही समयपछि उक्त कर्फ्यू हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनका क्रममा राष्ट्रपति राजापाक्षे घरमै रहेको वा नरहेको बारे स्पष्ट भइसकेको छैन । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा सरकारविरुद्ध तीव्र जनआक्रोश पैदा भएको छ । विदेशी मुद्राको अभाव र आर्थिक संकटबीच श्रीलंकामा तेल, औषधि, छपाई कागज जस्ता सामानको आयातमा समस्या उत्पन्न भएसँगै सर्वसाधारणले कठिनाइ महसुस गर्दै आएका छन् । केही समयअघिमात्रै छपाई कागजको अभावमा ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।