माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा सुनुवाई हुँदै

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार १३:३८ मा प्रकाशित

तत्कालीन एमाले नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तर उक्त सुनुवाइ स्थगित गर्न भनी माधव पक्षबाट अर्को रिट निवेदन पनि दायर भएको छ ।

माधव नेपालसहितका १४ सांसदको पक्षबाट परेको दायर गरिएको निवेदनमाथि भने आज सुनुवाई नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले उक्त रिट आफूहरुले हेर्न नमिल्ने भन्दै सुनुवाई अस्वीकार गरेका हुन् ।

नेकपाभित्र विवाद बढेपछि माधव नेपालसहितका १४ जना सांसदले एमाले छाड्दा सांसदको पदबाट समेत च्युत हुनुपर्ने मागसहित एमालेले सर्वोच्चमा रिट हालेको थियो । तर लामो समयसम्म उक्त रिटमाथि सुनुवाई हुन सकेन । आज सोही रिटमाथि पूर्ण सुनुवाइ हुने भएको छ । तर त्यो सुनुवाई रोक्न भन्दै नेपाल पक्षले इजलास समक्ष निवेदन दिएको हो, जुन हेर्न नमिल्नेमा राखिएको छ ।

यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले उक्त मुद्दामाथि सुनुवाई गर्दै पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो ।