१ चैत्र २०८२, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा्र)ले आगामी शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको वाग्मती प्रदेश समितिको आयोजनामा मंगलबार बसेको बैठकले स्थानीय तह निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकमा उपत्यकाका तीन जिल्लाका अध्यक्षहरू, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठकले खुलामञ्चमा वृहत आमसभा तथा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठकाअनुसार आम सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।यस्तै आमसभालाई संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी लगायत वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।
आमसभामा पार्टीले राजनीतिक दलहरूको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवाल लगायका विषयहरूलाई समेट्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसअघि पार्टीले झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियालगायत जिल्लामा आमसभा सम्पन्न गरिसकेको छ ।