वैद्य माओवादीबाट फुटेको पार्टी नेकपा एसमा समाहित

होमल्याण्ड खबर

२०७८ चैत्र २४ गते, बिहीबार १६:२२ मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्यबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

नेकपा (क्रान्तिकारी) माओवादी परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा एसमा समाहित भएको हो ।

बिहीबार नेकपा एसको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँ नेता कार्यकर्तालाई पार्टीमा समावेश गरेका थिए ।

पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरूको तत्कालीन पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरूको सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताए । एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफूहरूको योगदान हुने उनको भनाइ थियो ।