८ मंसिर २०८१, शनिबार
रुस र युक्रेनबीचको युद्धले विश्वभर मन्दी छाउने विश्व बैंकका प्रमुख डेभिड मालपासले चेतावनी दिएका छन्। उनले हाल खाद्यान्न, ऊर्जा र रासायनिक मलको मूल्यमा तीव्र वृद्धि भइरहेकोतर्फ संकेत गर्दै विश्व मन्दीतर्फ जाने चेतावनी दिएका हुन्।
मालपासले हालको अवस्थामा मन्दीबाट बच्न सकिने अवस्था कठिन देखिएको पनि बताए। उनले चीनमा भएको श्रृंखलाबद्ध लकडाउनले पनि विश्वभर आर्थिक सुस्तता निम्त्याएको धारणा राखे। विश्व अर्थतन्त्र संकुचनको अवस्थातर्फ जाने जोखिम बढ्दो देखिएको उनको भनाइ छ।
‘ग्लोबल जीडीपी हेर्दा हामीले मन्दीलाई रोक्न सक्ने अवस्था कठिन भएको पाएको छु। ठोस प्रक्षेपण बिना नै मालपासले भने(‘ऊर्जाको मूल्य दोब्बर वृद्धि हुनु नै मन्दीलाई बढावा दिन पर्याप्त छ ।’ गत महिनामात्र विश्व बैंकले आफ्नो ग्लोबल इकोनोमिक ग्रोथबारेको प्रक्षेपणमा कटौती गर्दै ३।२ प्रतिशतमा सीमित हुने बताइसकेको छ।
मालपासका अनुसार धेरै युरोपेली देशहरु अझै पनि पेट्रोलियम पदार्थ र ग्यासका लागि रुससँगै निर्भर छन्। यस्तै विकासशील देशहरुपनि इन्धन, खाद्यान्न र रसायनिक मलको अभाव खेपिरहेका छन्।
तर हालको अवस्थालाई हेर्दा रुसले आफ्नो ग्यास आपूर्तिको माध्यमलाई रोकेपछि त्यस क्षेत्रमा मन्दीको अवस्था सिर्जना हुने वातावरण तयार भइसकेको उनको भनाइ छ। उनका अनुसार जर्मनीमा ऊर्जाको मूल्य अधिक बढ्न थालेको छ, जुन युरोपकै ठूलो र विश्वको चौथो ठूलो अर्थतन्त्र मानिन्छ। हाल धेरै पश्चिमा देशहरुले रुसी उर्जामाथिको निर्भरतालाई कम गर्ने योजनाहरु समेत बनाइरहेका छन्।
मालपासले चीनका प्रमुख शहरहरुमा भएको लकडाउनप्रति समेत चिन्ता व्यक्त गरेका छन्। सांघाइ चीनको वित्तीय उत्पादन र सिपिङको हब मानिन्छ। तर, त्यही लामो समयदेखि भइरहेको आंशिक लकडाउनले विश्वभर मन्दीको सिर्जना हुने अवस्था देखापरेको भन्दै उनले यसतर्फ चीनको ध्यानाकर्षण समेत गराएका छन्।