२ चैत्र २०८२, सोमबार
आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ ।
यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो । आज उनीहरुको मुद्दामा सुनुवाइका लागि अदालतले म्याद तामेल गरेको छैन ।


मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
आईजीपी विवादबारे सर्वोच्चका अदालतले सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाउन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।
यसैबीच पोखरेलले इजलासमा आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन् । मुद्दाको छिनोफानो हुन ढिलाइ भए आफू साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएकाले छिटो टुंगो लगाइदिन उनले आग्रह गरेका हुन् ।
‘छिटो न्याय पाउँ श्रीमान्, मेरो मुद्दाको टुंगो नलागे साउन २० मा अवकाश हुन्छ । यो मुद्दाको २–३ दिनभित्रै टुङ्ग्याइयोस्’, पोखरेलले भने । जवाफमा न्यायाधीश श्रेष्ठले छिटो फैसला गरिने आश्वासन दिए ।