प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

होमल्याण्ड खबर

२०७९ जेष्ठ २९ गते, आईतवार ११:५९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण कुन पदयि हैसियतमा हुँदै गरेको र त्यो भ्रम्णको उदेश्य के हो भनी संसदमा प्रश्न उठाएको छ । यस बारेमा सदनलाई जानकारी गराउन एमालेले माग गरेको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको उनले बताए । देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी नदिएको तथा भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरेका छन् ।

‘यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले होस सेना त्यसमा जोडिएको छ,’  उनले भने, ‘यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ या रक्षामन्त्रीको हैसियतले ? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ ।’

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आएका छन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन। अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताए। साथै उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको उनको भनाइ थियो।

देउवाको अमेरिका भ्रमणबारे र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले कतै नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका ज्ञवालीले जनाएका छन् । ‘एकातिर परराष्ट्र मन्त्रालय र स्टेट डिपार्टमेन्ट भ्रमण व्यवस्थापनको फ्रन्टलाइनमा नहुनु । यसको चाँजोपाँचो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु । अनि यस्ता विषयमा सहमति हुँदैछ भनेर चर्चा चल्नुले गम्भीर आंशका पैदा गरेको छ । नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन,’  ज्ञवालीले भने ।

केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए।