२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले एउटै पार्टी पनि समस्यारहित नहुने भन्दै झन् गठबन्धनमा समस्या देखिनु नौलो कुरा नभएको बताएका छन् । सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गदैं प्रधानमन्त्री देउवाले त्यसलाई स्वभाविक भएको प्रतिक्रिया दिएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसरमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन् । ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो,’ देउवाले भने, ‘आफ्नै पार्टी मिलाउन त चुनौती हुन्छ भने अरु पार्टीलाई मिलाउन सहज छैन । कोइरालाले नेपाली राजनीतिमा सशस्त्र युद्धमा होमिएको माओवादीलाई समेत मिलाएर शान्तिको बाटोमा ल्याउनुभएको थियो ।’


पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाले छोडेको राजनीतिक संस्कार अहिले पनि उत्तिकै व्यवहारिक रहेको देउवाको भनाई थियो । देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले गठबन्धनमा समस्या हुनु सामान्य भएको बताएका हुन् ।