भाजपाको निम्तोमा प्रचण्ड भोलि भारत जाँदै

होमल्याण्ड खबर

२०७९ असार ३० गते, बिहीबार १०:२९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । प्रचण्डको निजी सचिवालयले त्यसको पुष्टि गरेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भाजपा अध्यक्ष नड्डाले धेरैअघि निम्तो पठाए पनि राजनीतिक व्यस्तताले भ्रमण हुन नसकेको स्वकीय सचिव मल्लले बताए । मल्लले भने, –  ‘भाजपा अध्यक्ष जेपी नड्डाले धेरै अघि नै निम्तो पठाउनु भएको थियो । राजनीतिक व्यस्तताका कारणले अध्यक्ष कमरेडको भ्रमण हुन सकेको थिएन । शुक्रबार दिउँसो १ बजे उहाँ दिल्ली जाँदै हुनुहुन्छ ।’

मल्लका अनुसार प्रचण्डले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना रहेको मल्लले बताए । प्रचण्ड साउन १ गते स्वदेश फर्कनेछन् । प्रचण्डको दिल्ली भ्रमणका विषयमा दुई दिन अगाडी मात्रै भारतका नेपालसिथत राजदुतले प्रचण्ड निवासमे पुगेर समेत छलफल गरेका थिए ।