२ चैत्र २०८२, सोमबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ दिल्ली प्रस्थान गरेका छन्।नेपाल एयरलाइन्सको विमानमार्फत् प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्। प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतको नयाँ दिल्ली उड्नु अघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताएका थिए। उनले भारत भ्रमण सद्भावना भ्रमण भएको भन्दै चिनियाँ कम्युनिस्ट नेताहरुको हालैको नेपाल भ्रमण सँग नजोड्न आग्रह गरे। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि (प्रचण्ड) भारत गएका हुन्।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनेरनहुने अहिले निश्चित छैन। यद्यपि भेटको समय मिलाउने प्रयास भइरहेको बुझिएको छ।प्रचण्डले दिल्ली बसाईको क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ। त्यस्तै, दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको बताएका छन्।मल्लका अनुसार अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किनेछन्।