२ चैत्र २०८२, सोमबार
प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाएका छन्। मुख्यमन्त्री राउतले प्रदेशको नामाकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रूपमा प्रदेश सरकारलाई दिएको संरचनालाई स्थायी रूपमा हस्तान्तरण गरिदिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समानजवादी अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र दिएका हुन्।
उनले प्रदेशको राजधानीको भौतिक संरचना निर्माणको लागि सम्भाव्यताको अध्ययन गर्न गठन गरेको समितिले प्रदेशको सरकारी संरचना रहेको जनकपुर चुरोट कारखाना (मधेश भवन) र प्रदेशसभा रहेको स्थान लगायतका स्थानहरूमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरेकोले मधेश भवन, प्रदेशसभा लगायत सिफारिस गरिएका जग्गाहरू प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न अनुरोध गरेका हुन्।


‘प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था गर्न संघीय ऐन समेत बनिसकेको छ। अतः धानिक तथा कानूनी व्यवस्थाको आधारमा अगामी निर्वाचन अगावै नै प्रहरी समायोजन गरी हस्तारण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिइ पहल गरिदिनुहुन सादर अनुरोध छ’, मुख्यमन्त्री राउतले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ। प्रधानमन्त्रीसहित गठबन्धन दलभित्रका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सहित प्रदेशका सबै मन्त्रि र मुख्यन्यायाधिवक्ता उपस्थित थिए।