२ चैत्र २०८२, सोमबार
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए ।
उनले मुलुकमा परिवर्तन ल्याउन त्याग र बलिदान गरेको, मुख्य भूमिका निर्वाह गरेको पार्टी माओवादी नै रहेको दाबी गर्दै माओवादीले नै नेतृत्व नगरेसम्म यो देशले पार नपाउने प्रस्ट पारे । ‘बुलेटमा छैनौँ, ब्यालेटमै छौँ । यो संघर्ष पनि वर्ग संघर्षको एउटा रुप हो । देश कता लिएर जाने भन्ने कुराको निधो हुन्छ,’ उनले भने ।


उनले शान्ति प्रक्रियामा आउनुभन्दा केही महिना अघि ‘चुनवाङ बैठक’ मा त्यतिबेला देशको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै अन्य दलसँग पनि सहकार्य गरेर जान सकियो भने देश गणतन्त्रमा जान सक्छ र त्यसको नेतृत्व हामीले गर्नुपर्छ भनेर किटेर लेखिएको पनि चर्चा गरे । सोही बैठकमा त्यो गणतन्त्र जनताको गणतन्त्र हुन्छ कि प्रतिक्रियावादीको बुर्जुवा गणतन्त्र हुन्छ भन्ने प्रस्ट छैन भनेर पनि प्रस्ट उल्लेख गरिएको भन्दै प्रचण्डले अहिले पनि देशको अवस्था त्योभन्दा भिन्न नरहेको बताए ।
उनले भने, ‘आजको दिनमा राजनीति त्यसकै वरिपरि घुमिरहेको छ । समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ तर मानिस संघीयता, गणतन्त्रको विरुद्ध बोल्न थालेका छन् । संविधान विरुद्ध जेहाद छेड्न खोजेका छन् । परिस्थिति चुनवाङमा भनिएकै अवस्थामा छ ।’
उनले जनयुद्धको तयारी भइरहेको समयमा नरबहादुर कर्माचार्यले आफूलाई उत्प्रेरित गरेको स्मरणसमेत गरे । नरबहादुर कर्माचार्यले आफूलाई अभिभावकको रूपमा माया गर्ने गरेको उनले सुनाए ।