राष्ट्रिय हितका विषयमा सरकार चुप बसेको भीम रावल आरोप

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १६:४१ मा प्रकाशित

नेकपा (एमाले)का नेता भीम रावलले सरकार राष्ट्रिय हितका विषयमा चुप लागेर बसेको आरोप लगाएका छन् । उनले हिन्दप्रशान्त महासागर क्षेत्रमा शाक्ति राष्ट्रहरुको प्रतिष्पर्धा चलिरहँदा पनि नेपाल सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरे । रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले शक्ति राष्ट्रहरुको द्वन्द्वमा नेपाललाई जान नदिने दृढता सरकारमा नभएको तर्क गरे ।

नेता रावलले वर्तमान सरकार देश र जनताप्रति संवेदनशील नभएको आरोप समेत लगाए । उनले प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु जसरी पनि निर्वाचन जित्ने र पदमा पुग्ने होडबाजीमा रहेको टिप्पणी गरे । उनले गठबन्धनका गतिबिधीहरुले पदमा पुगेर विदेशीको अगाडी लम्पसार भई देशको स्वाभिमानलाई झुकाउने देखाएको जिकिर गरे ।

रावलले वर्तमान सरकारलाई कुनै लाज–घिन नभएको टिप्पणी गरे । उनले देशको राजधानी नै फोहोरले ठाकिदा पनि सरकारले महानगरको काम भन्दै उम्किएको आरोप लगाए ।