कांग्रेसलाई सय सिट राखेर गठबन्धन गर्न पदाधिकारीको सुझाव

होमल्याण्ड खबर

२०७९ श्रावण २३ गते, सोमबार १३:२७ मा प्रकाशित

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।

“कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ,” एक पूर्वपदाधिकारीले भने, “हैन भने कांग्रेसको सिट व्यवस्थापन सम्भव हुँदैन । त्यसले गठबन्धनको सफलतामा पनि असर पार्छ भन्ने कुरा राखेका छौँ ।” ती पदाधिकारीका अनुसार गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको भन्दै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई त्यही अनुरुपको मानसिकता बनाउन आग्रह गरेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

“पार्टीका तर्फबाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरुसँग छलफल थियो । आजै पाँच दलीय कार्यदलसँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नुभएको हो,” प्रवक्ता डा. महतले भने, “साथिहरुले आफूलाई लागेका सल्लाह सुझाव दिनुभएको छ ।”

उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको बताए ।