३ चैत्र २०८२, मंगलवार
प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएको छ ।


उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य हुने स्पष्ट गरे ।
सांसदहरु भरत साह, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, राजन केसीलगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए।
यसैगरी, प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पनि पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए। उनले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताए ।