३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चूनाव लड्न लागेपनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरि न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका हुन् ।


नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा राखे । २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गरे । यसै वर्षको स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पाएको भन्दै उनले फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए ।
गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चूनाव जितिन्छ भनेर ढूक्क हुने अवस्था नरहेको स्पष्ट पारेका छन् । गठबन्धनका कारण चुनाब जितिन्छ भनेर टिकटमा हानथाप नगर्न पनि उनले आग्रह गरे । टिकट वितरणलाई न्यायपूर्ण बनाउने आश्वासन पनि देउवाले दिएका छन् ।
देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिएपनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेसले आफ्नो पार्टीका तर्फबार्ट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम भोलि सकिने छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने भनिएको अभियान एक साता पछि सारेको छ । चुनावी अभियान अब भदौ १० गतेदेखि सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।