३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया हथौडा’चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यो निर्णयबारे आजै निर्वाचन आयोगलाई जानकारी दिने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । आजको बैठकमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने, सिट बाँडफाँड र चुनावी घोषणा पत्र तथा विभिन्न समितिहरू गठन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी थियो । हिजो बोलाइको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो ।

