जी ट्वान्टीको अध्यक्षता भारतलाई हस्तान्तरण

होमल्याण्ड खबर

२०७९ कार्तिक ३० गते, बुधबार १६:३२ मा प्रकाशित

भारतलाई समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वान्टी सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता हस्तान्तरण गरेको छ ।

समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आज यहाँ शिखर बैठक समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक रूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन् । जी ट्वान्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समूहको अध्यक्षता पाएको भारतले त्यसलाई समावेशी, महात्वाकांक्षी, निर्णायक एवम् कार्यउन्मुख बनाउने दृढता उनले व्यक्त गरे। त्यसअघि उनले ‘डिजिटल’ रुपान्तरणबारे मन्तव्य व्यक्त गरेका थिए ।