रवि लामिछाने नागरिकता लिने प्रक्रिया सुरु गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने

होमल्याण्ड खबर

२०७९ माघ १५ गते, आईतवार १०:३७ मा प्रकाशित

पुरानो नागरिकता बदर भएर गृहमन्त्री, सांसद र पार्टीको अध्यक्षसमेतबाट बाहिरिनु परेपछि रवि लामिछानेले नागरिकता लिने भएका छन् । उनी निकट स्रोतका अनुसार रविले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्ने लागेका हुन् ।

प्रशासन कार्यालय स्रोतले लामिछाने नागरिकता लिने प्रक्रिया सुरु गर्न आज कार्यालयमा आउने जानकारी गराएको बतायो ।
नेपाली नागरिकताका लागि रविले प्रक्रिया अगाडि बढाएपछि त्यसबारे गृह मन्त्रालयसँग समन्वय गरी नागरिकता दिनेबारे प्रक्रिया अघि बढ्ने प्रशासन कार्यालयले जनाएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्त नगरेको मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्।

स्रोतका अनुसार उनले अमेरिकी नागरिकता त्यागेको निस्सा ल्याइ नसकेकोको पनि बताउने गरेका छन् । तर रवि निकट स्रोत भने त्यो स्वीकार्दैन ।