गृहमन्त्री हामीलाई दिनेमा प्रधानमन्त्री अलमलमै हुनुहुन्छ : रास्वपा

होमल्याण्ड खबर

२०७९ माघ १७ गते, मंगलवार १२:१० मा प्रकाशित

गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने उनले बताए ।

‘गृहमन्त्री रास्वपाले पाइसकेको विषय हो । गृहमन्त्रीको नाम पठाउनुस् भनिसकेको स्थिति पनि छैन,’ ढकालले  भने, ‘प्रधानमन्त्रीले हामीलाई गृहमन्त्री दिने भनेपछि व्यक्ति निर्णय गर्छौं ।’

गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए । ‘पार्टी सभापतिको नेतृत्वमा सरकारमा नजाँदा घाटाहरु पनि देखिन्छन् । सभापति नै गृहमन्त्रीमा जाँदा पनि केही घाटाहरु छन्,’ ढकालले भने, ‘घाटा/फाइदा तौलेर र के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्छौं ।’ आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए ।