४ चैत्र २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग आफुलाई गृहमन्त्रीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।
तर, प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौ भनेपछि लामिछानेले आज साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गराएको स्रोतले जानकारी दियो ।


गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमेको थियो । तर आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएपछि उनी पुनः गैरसांसद मन्त्रीका रुपमा सिंहदरबार छिर्न बार्गेनिङ गरिरहेका छन् ।
निकट स्रोतका अनुसार गृह मन्त्रालय नपाए रविले आजै बेलुका पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएको घोषणा गर्ने तयारी गरेका छन् ।