४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरू प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको चुनावबाट नेकपा एमालेले सरकार गठनको मत नपाएकाले रुचि नराख्दा पनि कांग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सारेको टिप्पणी गर्नुभयो । उनले संसदमा नेपाली कांग्रेसका व्यवहारहरू बुझिनसक्नुको रहेको बताउँदै कांग्रेस यति बेला पानीबाहिरको माछो झैँ छटपटाइरहेको बताए।


उनले भने, ‘हामीलाई सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुचि र व्यग्रता थियो, कांग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ । यस बीचमा संसदमा नेपाली कांग्रेसका व्यवहारहरू बुझिनसक्नुका छन् । कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ । कांग्रेस यति बेला पानीबाहिरको माछाजस्तै छटपटाएको देखिन्छ । सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा देखिन्छ ।’
अध्यक्ष ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे । उनले नागरिकका प्रतिनिधि र राजनीतिक दलका नेताहरू मिलेर दृढ निश्चय र इमानदारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि सङ्कल्प गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले वृहत्तर राष्ट्रिय हितमा काम गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह समेत गरेका छन् ।