४ चैत्र २०८२, बुधबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् ।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताइन् । उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन पनि आग्रह गरिन् ।


आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पूराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको मन्त्री शर्माको भनाइ थियो ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको उनको धारणा थियो ।
मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् । नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने तर्क मन्त्री शर्माको थियो ।