३० कार्तिक २०८१, शुक्रबार
स्थीर सरकारसँगै सबैले संवृद्धिको सपना सजाए । सरकारमा पुग्नु अधि नै दल स्वयम्ले नै यही सपना बाढेको थियो । त्यसैले पनि सर्वसाधारण अभाव र दवाव भन्दा पनि सबल हुनेमा आशावादी थिए । सकसपूर्ण जीवनशैलीबाट संवृद्धिको बाटोमा गति लिन पाइएला भन्नेमा थिए । तर विडम्वना ! सरकारका सहयोगीलाई संवृद्धि आयो तर सर्वसाधारणलाई सकस मात्रै । सुखी शब्दकै उपहास हुने गरी ‘संवृद्ध नेपाल, सुखी नेपाली’ को नारा आयो । भ्रष्टाचार र कमिसनको सञ्जाल गाउँ गाउँमा सिंहदरवारको नाममा पुग्यो । जसका लागि कर तिर्नु जनताले मंहगो हात्तीभन्दा नि खतरनाक सिंह पाल्नु बराबर ठान्न थालेका छन् ।
दशैका आसपास ठगी र अपराधका घटना बढ्ने गर्छ । सरकारले दशैलक्षित विशेष सुरक्षा योजना ल्याएको घोषणा गरेको छ । तर सर्वसाधारण पत्याउन तयार देखिदैनन् । किनभने, अपराधशाश्त्रका अनुसार, बलत्कारका घटना हिम्मत नभएका कायरले गर्छ । जसले फकाउने तरिका जान्दैन् । जोसँग विवाह गर्ने आँट हिम्मत छैन् । उसले कमजोर पात्र छान्छ । अफ्ठेरो ठाँउ खोज्छ । अनि उसको चाहना पूरा गर्छ । अर्थात बलत्कारीले निरिहमाथि पुरुषार्थ देखाउँछ । तर पछिल्ला घटनाक्रमले त सरकार यी बलत्कारी भन्दा पनि निरिह र कमजोर हुदै त छैन् ? शंकै शंका छ । वा आफ्ना सहयोगीका लागि जस्तै निकृष्ट कर्तुत भए पनि लुकाउन पर्ने परिबन्धमा परेको छ ।
नयाँ योजना र परियोजनाका लागि आफैले बनाएका मान्यता र सिद्धन्त विपरीत निर्णय गर्न अग्रसर भएको छ । अरुण तेश्रोमा एक जातको पुतलीको बास स्थान नष्ट हुने भन्दै विरोध गर्नेहरु अहिले एउटा विमानस्थल बनाउनका लागि आवश्यकभन्दा धेरै चौवीस लाख बढी रुख काट्न षड्यन्त्रमुलक शैलीमा लागेका छन् । चाँडै वन फाँड्ने षड्यन्त्र लाई नै वैधानिक आधार भनी प्रचार बाजीमा लाग्नु परेको छ ।
सरकारले आफैँले नै ‘कालोसूची’ मा राखेको चिनियाँ कम्पनी गेजुवालाई बूढीगण्डकी जलविद्युत् परियोजना दिनका लागि तजबिजी शैलीमा निर्णय गरेको छ । ‘कामचोर’का रूपमा बदनाम ठेकेदारहरूमाथि कारबाहीको माग गरिए पनि सरकारले उल्टै पुरस्कृति गरिरहेको छ । सार्वजनिक यातायातमा सिन्डिकेट तोडेको देखाएको सरकारले आफ्नाहरुको नयाँ सिन्डिकेटसँगै सर्वसाधारणलाई सकसका नयाँ भार अझ थपेको छ ।
स्थीर सरकारमार्फत दिगो विकासको आस गरिरहेका जनतालाई यो सरकारसँगै सकस पनि स्थीर हुने हो कि भन्ने शंका पैैदा भएको छ ।
विश्वप्रसिद्ध भनाइ छ, ‘एब्सुलेट पावर करप्ट एब्सुलेट्ली’ यस्तै हामी पनि अधिक शक्तिको मारमा अधिक शोषण र भ्रष्टाचारको सकसतिर गैरहेका त छैनौ ? चर्को बजार मूल्य र धूलाम्य सडकमा उभिएर ‘राजसी सवारी’लाई सम्झदै उत्तर खोज्नु पर्ने भएको छ ।
शक्तिकी देवीको पूजा हुने दशैंको अवसरमा शक्तिको प्रयोग गर्नेहरुलाई शुभकामना ! प्राप्त सत्ता–शक्तिः शोषणका लागि होइन, संवृद्धिका लागि प्रयोग होस् । शुभकामना !