गृहले अघि बढायाे गौर हत्याकाण्डका दोषीलाई कारबाहीकाे प्रकृया

होमल्याण्ड खबर

२०८० भाद्र १० गते, आईतवार १६:३४ मा प्रकाशित

काठमाडौं । १७ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाहीकाे प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए ।

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमति अनुसार गृहले कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कारबाहीको लागि सरकारमाथि दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो ।

प्रवक्ता भट्टराईले भने, ‘संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सम्झौताअनुसार कार्यलाई अगाडि बढाउन हाम्रो तर्फबाट पत्र पठाइसकेका छौँ, त्यसको आधारमा अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडि बढ्छ ।’ घटनामा परी घाइते भएकालाई उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय पत्र पठाउने काम भएको उनले बताए ।

घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । ‘अनुसन्धान गृह मन्त्रालयले गर्ने होइन, यसका लागि छुट्टै संरचना छ । सो संरचनालाई पत्राचार गरिसकेका छौँ,’ प्रवक्ता भट्टराईले बताए । सम्बन्धित निकायले यसबारे छानबिन गरेपछि थप प्रक्रिया अगाडि बढाइने उनले बताए।

यता, गौर घटनाका कारण जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले उच्च स्तरीय छानबिन आयोगको माग गरेका छन् ।

पीडितसँग गृह मन्त्रालयले गरेका सहमतिपत्रमा गौर घटनाका विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ।

त्यस्तै, उक्त घटनामा मृत्युवरण गरेर शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियाे।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चोकमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो।