८ मंसिर २०८१, शनिबार
काठमाडौं। इजरायलको लगातारको बमबारीका कारण गाजाबाट विस्थापित भएका हजारौं सर्वसाधारण प्यालेस्टाइनको रफाहमा कष्टपूर्ण जीवन बाच्न बाध्य भएका छन्। चिसो रातमा उनीहरुले खुल्ला आकाशमुनि रात बिताउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
इजरायली आक्रमणबाट १० लाख बालबालिका विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको करिब ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ।
विस्थापितमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत तथा मानवीय मामिला हेर्ने निकायको सम्पर्कमा आएका छन् ।
गाजाकोे दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित सर्वसाधारण रहेको बीबीसीले उल्लेख गरेको छ ।
इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि विस्थापित हुने क्रम बढेको छ । हप्तौदेखि चलेको द्वन्द्वमा इजरायली आक्रमणका कारण करिब १७ हजार ५ सय व्यक्तिको मृत्यु भएको हमासले जनाएको छ।