पाँचौँपटक प्रधानमन्त्री बन्न लागेकी हसिनाविरुद्ध विपक्षी दलहरूले घाेषणा गरे देशव्यापी आन्दोलन

होमल्याण्ड खबर

२०८० पुष २३ गते, सोमबार १३:१० मा प्रकाशित

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगातार चौथोपटक प्रधानमन्त्री बन्ने भएकी छिन् । उनको पार्टी अवामी लिग र गठबन्धन दलहरूले ३ सय संसदीय सिटमध्ये २ सय २३ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन् ।

हसिना पाँचौँपटक प्रधानमन्त्री बन्न लागेकी हुन् । सन् १९९६ मा उनी पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन्, त्यसपछि सन् २००९ यता उनी लगातार यस पदमा रहन सफल भएकी छिन् । तर, आइतबार सम्पन्न बंगलादेशी आम निर्वाचनलाई विवादास्पद मानिएको छ । किनभने याे निर्वाचन प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीसहित अन्य १५ दलले बहिष्कार गरेका थिए । त्यसकारण मतगणना जारी रहेका स्थानमा पनि हसिनाको पार्टी र सहयोगीहरूले नै जित्ने अनुमान गरिएको छ ।

७६ वर्षकी हसिनाले गोपालगञ्ज ३ बाट चुनाव लडेकी थिइन्, उनले २ लाख ४९ हजार ९ सय ६५ मत प्राप्त गर्दा उनीविरुद्ध चुनाव लड्ने बंगलादेश सुप्रिम पार्टीका उम्मेदवारले मात्र ४ सय ६९ मत प्राप्त गरेको बताइएको छ ।

प्रमुख विपक्षी दल बीएनपीले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । यसअघि अक्टुबर २८ मा भएको सरकारविरोधी प्रदर्शनमा विपक्षी पार्टीका झण्डै २५ हजार जनालाई गिरफ्तार गरिएको थियो । विपक्षीले हसिनाको राजीनामा माग गरेका छन् । तर, हसिनाले राजीनामा दिन अस्वीकार गरेकी छिन् । उनी तटस्थ कार्यवाहक सरकार खडा गर्न र अर्को चुनाव गराउन पनि असहमत छिन् ।

हसिनाले कुनै समय गरिबीले घेरिएको देशमा असाधारण आर्थिक वृद्धिको वाचा गरेकी थिइन् । तर, उनको सरकारलाई मानवअधिकार हनन र विपक्षीविरुद्ध क्रूर बनेको आरोप लगाइन्छ । हसिना निरंकुश बन्दै गएको टिप्पणी हुन थालेको छ ।

विपक्षीबिनाको यस निर्वाचनमा ४० प्रतिशत मतदाताले मतदान गरेको बताइएको छ । तर यो तथ्यांक पनि झुटाे रहेकाे विपक्षीहरूको भनाइ छ । यो निर्वाचनलाई अस्वीकार गर्ने भन्दै बीएनपीसहित १५ दलले मंगलबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।